TagaroNews
भीरमा मह काढेर फर्कने बेला दोर्दी खोलाको खोँचमा खसेर युवक बेपत्ता

लमजुङ-  लमजुङमा खोलाको  खोँचमा  खसेर एक युवक बेपत्ता भएका छन् ।  दोर्दी गाउँपालिका–६, ताँजेका ४८ वर्षीय ठागु घले भीर मह काढेर घरतर्फ फर्किने क्रममा दोर्दी खोलाको खोंचमा खसेर बेपत्ता भएका हुन् ।

गाउँबाट आधा दिन लाग्ने दोर्दी गाउँपालिका–७, को महखर्क नजिकैको पहराबाट उनी बिहीबार साँझ दोर्दीखोलाको खोँचमा खसेका थिए । ठाउँ अप्ठ्यारो भएका कारण भीर मह काढ्न गएका अन्यले खोज्न नसकेपछि उनीहरुले गाउँ र प्रहरीलाई खबर गरेका थिए । उनीसहित केही दिनअघि १५ जनाको टोली भीर मह काढ्न दोर्दीखोलाको तीरैतिर लेक गएका थिए ।  

सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ को ड्याम क्षेत्रदेखि मुस्किलले ४ घन्टामा हिँडेर पुगिने उक्त ठाउँ भिरालो रहेको र दोर्दीखोलाको खोँच अप्ठ्यारो ठाउँमा रहेकाले बेपत्ता भएकाको खोजी कार्य जटिल भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार खबर पाएसँगै गाउँबाट खोजी कार्यका लागि युवाहरु खटिएका छन् ।

समुद्री सतहदेखि करिब ३ हजार ४ सय मिटर उचाइको उक्त ठाउँमा शुक्रबार पुगेका संयुक्त सुरक्षाफौजको टोली शनिबार बिहानैदेखि बेपत्ताको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार घटनाबारे बिहीबार राति जानकारी आएको र शुक्रबार संयुक्त सुरक्षा फौज गएको बताए ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update