TagaroNews
खैरो हेरोइन सहित पक्राउ: श्रीमान कारागार, श्रीमती धरौटीमा रिहा 

बेसीशहर – खैरो हेरोइन सहित लमजुङ प्रहरीको फन्दामा परेका दुई मध्ये एक जना कारागार चलान भएका छन् । कारागार चलान हुनेमा नवलपरासी देवचुली नपा –१६ घर भइ लमजुङको सुन्दरबजार नपा –९ भोटेओडार बस्ने मौलादिन मिया रहेका छन् । 

गत बैशाख २ गते बीरगञ्जबाट बेसीशहर तर्फ आउँदै गरेको ना ४ ख ६११७ नम्वरको रात्रीबसमा श्रीमति जमिलासहित भोटेओडार आएका मियालाई बसबाट ओर्लेर डेरातर्फ जाँदै गर्दा प्रहरीले ब्राउन सुगर लगायतका लागू औषधसहित पक्राउ गरेको थियो ।

जिल्ला र ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरी टोलीले उनीहरुको खानतलासी गर्दा जमिलाले आफनो ब्राभित्र लुकाएर ल्याएको ६ पोका लागू औषध खैरो हिरोईन् २ दशमलव ३ ग्राम, लागू औषध डाइजेपाम एम्पुल २३, फेनरगन एम्पुल २३, नोफिन एम्पुल २१, नाइट्रजेपाम ट्याब्लेट ६९ थान बरामद गरेको थियो ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढायो । लमजुङ जिल्ला अदालतको आदेशले प्रतिवादी मौलादिन मियालाई जेठ २५ गते पूर्पक्षको लागि कारागार चलान गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीममले बताए । उनका अनुसार मौलादिनकी श्रीमती जमिला मिया ७ महिनाको गर्भवती रहेकीले उनलाई भने अदालतले ३५ हजार रुपैयाँ धरौटी लिइ तारेखमा छोडेको छ । 

सरकारी वकील कार्यालयले उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम लागू औषध ओसारपसार तथा बिक्री बितरण तर्फ सजाय हुने गरी अभियोग पत्र पेश गरेको थियो । यो कसुर ठहर भएमा प्रतिवादीहरुलाई ५ बर्षदेखी २० बर्षसम्म जेल सजाय र पाँच हजारदेखी बीस लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update