TagaroNews
औपचारिक बैठकमा जमिन सट्टापट्टाबारे कुरै भएन : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग औपचारिक बैठकमा जमिन सट्टापट्टाको कुरा नगरिएको बताएका छन् । बुधवार राष्ट्रियसभामा भारत भ्रमणका बारेमा जवाफ दिने क्रममा प्रचण्डले अनावश्यक रूपमा जमिन सट्टापट्टाको कुरा नगर्न आग्रह गरे । 

‘माननीयले तपाईँ जमिन नै दिएर आउनु भएछ भन्नुभयो । मैले कुनै औपचारिक बैठकमा जमिन सट्टा पट्टा बारेमा कुरै गरेको छैन । खाली कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो । ती क्षेत्रको सीमा समस्या वार्ताद्वारा हल गरिनुपर्छ भन्ने कुरा भनेको हो’ प्रचण्डले भने ।

‘जमिन सट्टापट्टाको विषय एउटा बुद्धिजीवीले मात्रै होइन । सरकारले समय समयमा अध्ययन गराउने गरेको रहेछ । जमिन सट्टापट्टा गर्न सकिन्छ भनेर उहिल्यैदेखि भनिएको रहेछ’ उनले भने, ‘मैले आविष्कार गरेको कुरा होइन । यस्ता विचार छन् भनेर भनेको मात्रै हो ।’

उनले दुई देशबीच देखिएको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न भारतीय प्रधानमन्त्री सकारात्मक रहेको प्रष्ट्याए। उनले दुई देशबीचको सम्बन्धको बारेमा मोदीसँग खुलस्त कुरा राखेको पनि दाबी गरे।

उनले विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको बताए। नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्नेबारे सकारात्मक छलफल भएको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update