TagaroNews
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोखरा -  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याउँदै छ । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारले यसअघि जेठ १२ गतेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता पेश गरेको थियो । १५ र १६ गते दुई दिन प्रदेशसभामा छलफल गरिएपछि पास गरिएको थियो । सो पछि आज नीति तथा कार्यक्रम ल्याइने भएको हो । 

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुपूर्व नीति तथा कार्यक्रम ल्याउनुपर्ने परम्परा अनुसार नै ल्याउन लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई समेटेर नै आगामी वर्षको बजेट तय गरिन्छ ।

चालु आवमा ३५ अर्व ९० करोड ९० लाखको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको लागि बजेट घटाएर ल्याउने तयारी गरेको छ । गत वर्ष नीति तथा कार्यक्रममा नसमेटिएको सांसद विकास कोषलाई बजेट पास गर्ने बेलामा शीर्षक फेरेर (पूर्वाधार विकास कार्यक्रम) यस वर्ष निरन्तरता दिने तयारी रहेको छ । गण्डकीका ३६ निर्वाचन क्षेत्रमा ७२ करोड विनियोजन हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update