
लमजुङ– आउँदो असारभित्र ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ । आयोजना निर्माणका अधिकांश काम सम्पन्न भएको र आउँदो असारभित्र नै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने आयोजना निर्देशक अर्जुन गौतमले बताए ।
लमजुङमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ । विसं २०७२ साल असोजदेखि आयोजना निर्माण सुरु गरिएको थियो । २०७८ महिनामा दोर्दीखोलामा आएको बाढीका कारण जलविद्युत् आयोजनाको बाँध बगाएको थियो भने अन्य संरचनामा समेत क्षति पुगेको थियो ।
बाढीका कारण पुगेको क्षतिका कारण आयोजना थप डेढ वर्ष पछि धकेलिन पुगेको आयोजना निर्देशक गौतम बताउँछन् । यसअघि २०७९ असार मसान्तसम्म आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो ।
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको अधिकांश पूर्वाधार संरचना भूमिगत रुपमा बनेका छन् । आयोजनाको विद्युत् गृहसमेत भूमिगत रहनेछ । कुल ८ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो ।
तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढ्न सक्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न ७ वटा बैंकको ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी छ । ७० प्रतिशत ऋण र बाँकी प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ ।
आयोजनाबाट उत्पादित हुने बिजुली दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसन ल्याएर जोडिनेछ ।