TagaroNews
विद्यालय नै बन्द गरेर शिक्षक र जनप्रतिनिधि भ्रमणमा मस्त
सामुहिक तस्बिर खिचाउँदै विद्यालयको भ्रमण टोली ।

सुन्दरबजार – लमजुङको एक विद्यालयका शिक्षक, कर्मचारी र जनप्रतिनिधि विद्यालय नै बन्द गरेर भ्रमणमा मस्त भएका छन् । सुन्दरबजार नपा–९ स्थित भक्ति नमूना माविका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नगरपालिकाका जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी शैक्षिक सत्र चल्दै गर्दा विद्यालय नै बन्द गरेर भ्रमणमा निस्केका हुन् ।

शैक्षिक संस्था बन्द गरेर यसरी भ्रमणमा निस्केको कुरा अभिभावकहरुलाई समेत जानकारी छैन् ।   नमुना भ्रमण भन्दै विद्यालयले एउटै मितिमा दुई फरक सूचना निकालेर ४५ जनाको जम्बो समूह भ्रमणमा निस्केको हो ।

विद्यालयले एउटै मितिमा निकालेको दुई फरक सूचना ।

विद्यालयको आफनै स्कुल बस (३६ सिट क्षमता) को हुँदा समेत भ्रमण टोलीले अर्के गाडी रिर्जभ गरी भ्रमणमा गएको छ ।  

विद्यालयको आफनै स्कुल बस ।

सो वडाका वडा अध्यक्ष मनराज गुरुङ, स्थानीय केहि अभिभावकहरु सामाजिक सञ्जालमा सूचना देखेर भ्रमणबारे थाहा पाएको बताउँछन् । ‘आफनै वडामा रहेको विद्यालय बन्द गरेको कुरा सामाजिक सञ्जालमा सूचना देखेर थाहा भयो, वडा अध्यक्ष गुरुङले भने, न वडाका जनप्रतिनिधिलाई थाहा छ, न त अभिभावकहरुलाई नै, यसरी शैक्षिक सत्र चलिरहेका बेला विद्यालय बन्द गरेर भ्रमण निस्कनु कत्तिको सार्दभिक होला ? उनले प्रश्न गरे । 

‘विद्यालय नमुना बनाउने कुरामा हामी पनि लागेकै छौँ, बनाएको पनि हो, विद्यालयका पूर्व अध्यक्ष कृतिनाथ सापकोटाले भने, ‘आज यसरी अभिभावकलाई जानकारी नदिएर ४ दिनसम्म विद्यालय बन्द गर्नुले के सन्देश देला ? उनले थपे, ‘विद्यालयमा विद्यार्थी बढाउन अभियान चलाउने बेला यसरी बेकामे भ्रमण गर्नु राज्यको ढुकुटीको दोहन मात्र हो ।’ 

‘यो विद्यालय नमुना विद्यालय घोषणा भएको विद्यालय हो तर, धेरै कारणले अहिले शैक्षिक गुणस्तर खस्किदो छ, करिब २ सय ८८ विद्यार्थीहरु पढ्छन, अभिभावकको ठूलो भरोसा पनि छ, अभिभावक भिम गौलीले भने, शैक्षिक गुणस्तर उकास्ने अभियानमा लाग्ने बेलामा यसरी अभिभावकलाई थाहा नै नदिई ४ दिनसम्म विद्यालय बन्द गरेर, भ्रमण जानुमा हाम्रो घोर आपत्ति छ ।’

‘हामी १०, १२ जना शिक्षक यस भ्रमणमा सहभागी भएनौँ, विद्यालयका शिक्षक रमाकान्त सापकोटाले भने, ‘हामीले चैत २६ मै भनेका थियौँ, बार्षिक परिक्षाको नतिजा पश्चात भ्रमणमा जान उपयुक्त हुन्छ, कि त बर्खे विदाको समयमा मिलाउँला, तर, कसैले सुनेनन् । यस्ता भ्रमण त यसअघि पनि धेरै भए तर, केहि समयको मस्ती मात्र हो, शैक्षिक सुधारमा कसैको ध्यान पुगेको देखिदैन् ।’

विद्यालयले निकालेको सूचनामा नमुना विद्यालय अवलोकन भ्रमण हेटौडा, सिन्धुली, गाइघाट, धरान –धनकुटा हुँदै पाख्रीबास जाने भनिएको छ । तर, यो भ्रमणमा सँगै निस्केका नगर प्रमुख कृष्णप्रसाद कोइराला र शिक्षा शाखा प्रमुख ठाकुर तिवारी भने, हेटौडासम्मको भ्रमण सक्काएर फर्किएका छन् । 

श्री आधुनिक राष्ट्रिय माविको प्राङ्गणमा भ्रमण टोली ।

भ्रमणबारे बुझ्दा विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेले भने, ‘हामीले नगरपालिकाबाट अनुमती लिएर नै विद्यालयको निर्णयबाट भ्रमण तय गरेको हो, यो भ्रमणको विदा बर्खे विदामा मिलाउने छौँ ।’

यता शिक्षा शाखा प्रमुख ठाकुर तिवारीले नमूना विद्यालय विकास कार्यक्रम गुरुयोजना अन्तर्गतको अवलोकन भ्रमण रहेकाले भ्रमण राम्रो रहेको बताए । उनले भने, ‘भ्रमणका लागी यो असाध्यै राम्रो समय हो ।’

पछिल्लो तथ्याङ्क हेर्दा सुन्दरबजार नगरपालिकाको केही विद्यालय बाहेक अधिकांश विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण समेत घटेको छ । यो बेला पालिका भित्र रहेका सामुदायिक विद्यालयमा कसरी विद्यार्थी आकर्षित गर्ने, शैक्षिक गुणस्तर कसरी बढाउने, विद्यालयमा राजनितिक हस्तक्षेप हुनबाट जोगाउन के गर्ने, भन्ने तिर न जनप्रतिनिधिको चासो छ, नत शिक्षा शाखा प्रमुख, नत शिक्षकको नै । यस्ता गतिविधिले विद्यार्थीको भविष्य त विगार्छ नै, अभिभावकलाई पनि चिन्तित बनाएको छ । यसबारे सम्बन्धीत निकायले बेलैमा सोच्ने कि ? 
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update