TagaroNews
भाग्यको अवसरले 'चम्किएकी' शान्ति
शान्ति श्रेष्ठ ।

हातमा सीप र मनमा केहि गर्छु भन्ने इच्छा हुनुपर्छ जहाँ जस्तो ठाउँमा पनि राम्रो व्यवसाय गरेर मनग्य आर्जन गर्न सकिन्छ भन्ने प्रेरणा मेरो आफनो जीवनकालबाट पनि सिक्न सकिन्छ जस्तो लाग्छ ।

सुन्दरबजार - शान्तिको १२ बर्षकै कलिलो उमेरमा विवाह भयो । २०४४ सालमा विवाह गरेर नवरपरासी वर्दघाटबाट लमजुङको सुन्दरबजार आइपुगिन । २०४८ सालमा १६ बर्षको उमेरमै सन्तान जन्मिए । सुत्केरी खान माइत गएकी थिएन उनी नवलपरासी वर्दघाट । त्यहाँ नेपाल परिवार नियोजन संघले ६ महिने सिलाई कटाई तालिम सञ्चालनमा ल्याएको रहेछ । उनका धेरै साथिहरु पनि सो तालिममा सहभागी थिए । तालिम चलेको १ महिना पूरा भइरहँदा एक जनाले छोडेको भन्ने साथिहरुबाट थाहा पाइन उनले । सोहि छोड्नेको ठाउँमा आफनो सिक्ने इच्छा अनुसार सहभागी हुने अवसर मिल्यो उनलाई । एक महिना ढिलो भएपनि साथिहरुको सहयोगले छुटेका कुरा सिक्दै ५ महिनासम्म सिलाई कटाई तालिम लिइने काम गरिन । त्यत्तिबेला विन्दु श्रेष्ठ नाम गरेको प्रशिक्षकले तालिम दिएका थिए । तालिम अवधि निकै रोचक र नयाँ जानकारीका साथ बितेको उनले सुनाइन । 

उनले भनिन् ‘मेरो सानै उमेरमा विवाह भएकाले पनि यस अघिका दिनहरु घरायसी काममा नै रुमलिएर बिते, ८ कक्षासम्म मात्र अध्ययन गरेकाले अन्य केहि काम गर्ने अवस्था त्यत्तिबेला थिएन । श्रीमान विजयराम श्रेष्ठ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । श्रीमानको तलबले उहाँलाई नै ठिक्क हुन्थ्यो । केहि रकम आवश्यक परे पनि म सासु ससुराको भर पर्नुपर्ने अवस्था थियो । मेरा एक छोरा र छोरी छन् । तीनिहरुलाई पनि मुस्किलले दुख गर्दै हुर्काएको हो ।’ 

उनले थपिन् ‘६ महिने तालिमको अनुभव पश्चात म माइतबाट घर सुन्दरबजार फर्किए । बिचमा केहि गरिहाल्ने सोच नै आएन । किन कि रकम अभावले भित्रैबाट आँट आइहाल्दो रहेनछ । केहि समय पश्चात जिल्ला घरेलु तथा साना उद्योग कार्यालय बेसीशहरबाट २ महिने पुर्नताजगी तालिम लिने अवसर मलाई मिल्यो । त्यसपछि तालिमको सदुपयोग गर्ने र आफनो सीप क्षमतालाई अभिबृद्धि गर्दै जाने सोचका साथ ग्रामिण विकास बैँकबाट रकम ऋण लिएर एउटा सिलाई मेसिन खरिद गरी पसल खोलेर व्यवसाय अघि बढाँए ।’

सहभागीहरुलाई सिलाई कटाई सिकाउँदै शान्ति । 

उनले भन्दै गइन् ‘त्यत्तिबेला अन्य महिला दिदिबहिनीहरु पनि सिलाई कटाईको काम सिक्ने इच्छाका साथ मेरोमा आउन थाल्नुभयो । मसँग पनि एउटामात्र सिलाई मेसिन भएकाले धेरैलाई सिकाउने अवस्था थिएन । शुरुमा मैले ४ जनालाई सिकाएँ । व्यवसायबाट आम्दानी हुन थालेपछि ३ वटा मेसिन थप गरेँ । त्यसपछि त सिक्ने दिदिबहिनीहरु दर्जनौ हुनुभयो । आम्दानी बढ्दै गएपछि आफनो खर्च, घरपरिवारको खर्च कटाएर बचत पनि राम्रो गर्दै आएको थिँए ।’

यो विचमा ०५३ सालमा बैदेशीक रोजगारीको शिलशिलामा उनी जोर्डन गइन । बिदेशी अनुभव सुनाउँदै उनले भनिन् ‘मेरो मन खासै बैदेशिक रोजगारीमा अडिन मानेन । किनिकी महिला मान्छेलाई बिदेशमा सोचेजस्तो सहज नहुने रहेछ । अनि २ बर्ष पश्चात नेपालमै फर्किएर व्यवसाय थप अघि बढाउने सोच पलायो । नेपाल फर्किए ।’

उनले थपिन, ‘सुन्दरबजारकै राम बाबु श्रेष्ठ लमजुङ उद्योग वाणिज्य संघको उपाध्यक्ष हुनुहुन्थ्यो । सो बेला उहाँबाट थाहा पाएर दुई महिने सिलाई कटाईको एडभान्स तालिम लिने अवसर थप भयो । हामीलाई विनोददेव पन्त र तिवारी सर भन्नेले तालिम दिनुभएको हो । सो तालिम निकै रोचक बित्यो । सीप सिक्दा त आफुजस्तै सिक्ने र केहि गर्छु भन्ने हुटहुटि बोकेका साथिहरुसँग भेट हुँदा झन नौला नौला प्रयासहरु हुन्थे । तालिमले जीवनमा धेरै परिवर्तन ल्याइदियो । तालिममा मात्र सिमित नभई प्रशिक्षक समेत भैसकेको थिएँ । निरन्तर सिक्ने र सिकाउने कार्यले मलाई झन मेरो सीपलाई तिर्खार्दै लग्यो ।’ 

उनले २०५६ सम्म मा २५ जनालाई तालिम प्रदान गरिसकेको बताइन । थप कुरा गर्दै उनले भनिन् ‘विचमा सिटिभिटिका सरहरुसँग राम्रो चिनजान बढ्दै गयो । मेरो कामप्रतिको लगाव, इमानदारिता र सिकाउन सक्ने क्षमतालाई हेर्दै उहाँहरुले सिटिभिटिबाट सञ्चालित तालिमहरुमा प्रशिक्षक बन्ने मौका दिनुभयो । आफनो कामसँगै म धेरै तालिममा प्रशिक्षकको रुपमा सहभागी हुन थालेँ ।  अहिलेसम्म याद गर्दा ७ हजार बढीलाई त तालिम नै दिइसकेँ ।’

एक पटकमा ४० जनाले तालिम लिए भने, १० जनाले व्यवसाय नै शुरु गर्ने गरेको उनले सुनाइन । लमजुङ जिल्लाको प्राय सबै ठाउँमा पुगेर तालिम दिइसकेकी उनले, माइतिगाउँ नवरपरासी वर्दघाट जहाँ पहिलो तालिम सिकेकी थिइन त्यस क्षेत्रका विभिन्न ठाउँमा पुगेर पनि तालिम दिएको बताइन । उनले भनिन् ‘सिटिभिटिले त जागीर नै खानुस २५ हजार तलब दिन्छु भन्दा पनि मैले फुर्सदमा तालिम मात्र दिन जान्थेँ । दैनिक ७ हजार कमाई हुन्थ्यो ।’

अहिले उनको सुन्दरबजार वडा नं. ६ मा असिम टेलर्स एण्ड प्रशिक्षण केन्द्र सञ्चालनमा छ । यसबाट उनले सन्तोषजनक नै आम्दानी गर्दै आएको बताउँछिन । यो सँगै आफुँले नै तालिम दिएर दक्ष भएका ५ जना महिला दिदिबहिनीहरुसँग मिलेर उनले ०७९ बाट संयुक्त लगानीमा गार्मेन्ट व्यवसाय समेत शुरु गरेकी छन् । अहिले दैनिक २० जनाले काम सिक्दै आएको उनले बताइन् । 

सहभागीहरुलाई सिलाई कटाई सिकाउँदै शान्ति । 

९ लाख लगानी बाट शुरु गरेको यो व्यवसायमा अहिले १५ लाख लगानी पुगेको छ । तालिम पश्चात बचत गरेको रकमबाट खरिद गरिएको उनीसँग मात्र अहिले २० ओटा सिलाई मेसिन छन् । उनको व्यवसाय हेरेर घरेलु कार्यालयबाट पहिलो पटक ३३ हजारको र दोस्रो पटक ५० हजारको गरी २ वटा मेसिन अनुदानमा समेत मिलेको बताइन । उनले भनिन् ‘अहिले त व्यवसाय धेरै राम्रो छ । हातमा सीप र मनमा केहि गर्छु भन्ने इच्छा हुनुपर्छ जहाँ जस्तो ठाउँमा पनि राम्रो व्यवसाय गरेर मनग्य आर्जन गर्न सकिन्छ भन्ने प्रेरणा मेरो आफनो जीवनकालबाट पनि सिक्न सकिन्छ जस्तो लाग्छ ।’

‘अहिले त लाग्छ घर परिवार देखी समाजलाई पनि राम्रो योगदान पुर्याएको छु । अव भावि दिनमा गार्मेन्टलाई निरन्तरता दिएर ४०–५० जना महिला दिदिबहिनीहरुलाई आफनै ठाउँमा रोजगारी दिने इच्छा छ ।’ उनले भनिन् । 

सरकारले व्यवसाय गर्नेहरुको उचित मुल्याङ्कन र अनुगमन गरेर सदुपयोग हुने हिसाबले मात्र अनुदान दिनुपर्ने उनले बताइन । 

शान्ति श्रेष्ठसँग तगारो न्युजले गरेको कुराकानीमा आधारित ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update