TagaroNews
अलैँची बिक्रीबाट २० करोड 


लमजुङ– लमजुङका अलैँची कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा उत्पादित तीन सय ८० मेट्रिकटन अलैँची दाना बिक्रीबाट कृषकहरूले उक्त रकम आम्दानी गरेका हुन् ।

अलैँची जोन कार्यालय लमजुङका अनुसार उत्पादित अलैँची कृषकले यस वर्ष प्रतिकिलो पाँच सय ५० देखि सात सय रुपैयाँसम्ममा बिक्री गरेका छन् । गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए । 

२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्री भएको हो । यसअघि सबैभन्दा बढी ०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए ।

जिल्लामा उत्पादित अलैँची को माग उच्च रहेपनि भारतको एकाधिकारका कारण मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषकहरुको गुनासो छ । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती विस्तार गरिए पनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र अलैँची उत्पादन हुँदै आएको छ । 

जिल्लाको मस्र्याङ्दी, दोर्दी, दुधपोखरी, क्होलासोँथर गाउँपालिका र बेसीशहर, राइनास, मध्यनेपाल नगरपालिकामा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, रामशाही र भलाङे जातका अलैँची खेती गरिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update