TagaroNews
यार्सा टिप्न मनाङका उच्च खर्कमा संकलनकर्ता
संकलित यार्सा सफा गर्दै यार्सा संकलनकर्ताहरु ।

मनाङ - हिमालपारीको जिल्ला मनाङका उच्च खर्कहरुमा पाइने बहुमुल्य जडिबुटि यार्सागुम्बा संकलन कार्य शुरु भएसँगै संकलनकर्ता खर्क पुगेका छन् । यार्सा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएको छ । स्वीकृति पाए लगत्तै मनाङसँगै गोरखा, लमजुङ, धादिङ लगाएतका जिल्लाबाट स्थानीय यार्सा संकलन गर्न मनाङको लेकमा पुगेका छन् । 

खर्कमा यर्सा खोज्दै स्थानीय संकलनकर्ता ।

यार्सा संकलन गर्न पुर्जी काटिसकेका संकलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । प्रशासनका अनुसार जिल्लाभित्र यार्सागुम्बाको सिजन सुरु भएसँगै सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ । यार्सा खोज्ने क्रममा ०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका ७ जनाको स्थानीयले हत्या गरिदिएपछि मनाङको साबिकको नार र फु गाविसमा यार्सा संकलन रोकिएको थियो । नार घटनापछि स्थानीय प्रशासन र एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको हो । 

यार्सा संकलनका लागि संकलनकर्ताहरु यतिवेला नारफु, नाम्ग्य खर्क, खाङ्सार खर्क पुगेका छन् । संकलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापले जनाएको छ । 

मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ ।  

मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका लेकहरू यर्सागुम्बा बढी पाइने एक्याप मनाङको तथ्याङ्कले देखाउने कार्यालय प्रमुख लेखनाथ गौतमल जानकारी दिए । कार्यालयका अनुसार असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गरिन्छ ।

चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइने एक्यापले जनाएको छ । मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाका लागि उपयुक्त सिजन मानिन्छ ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update