TagaroNews
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणः अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । नेपाली नागरिकहरूलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगी गरेको कसुरमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  आरोपितहरूको आजदेखि बयान सुरू हुने भएको छ । सोही प्रकरणमा १६ जना पक्राउ परेका छन् ।

बयान करिब दुई हप्ता लाग्ने बताइएको छ । बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने आदेश हुनेछ ।

सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।  उनीहरूविरुद्ध ठगी, सरकारी लिखित कीर्ते,  संगठित अपराधको कसुर, राज्यविरूद्धको कसुर र एकीकृत कसुरवापत डेढी साजय गरी पाँचवटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ । जसमा २४ वर्ष कैद सजाय माग गरिएको छ। उनीहरूविरुद्ध २८ करोड ८४ लाख ७४ हजार पाँच सय बिगो माग गरिएको छ । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा चलाएर उनीहरूले करोडौं रकम असुल गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ । पक्राउ परेकाहरूले  ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको उनीहरूमाथि आरोप छ । 

प्रहरीले शरणार्थी प्रकरणमा विभिन्न समयमा  पक्राउ परेका माथि अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । प्रहरीले गत चैत १२ देखि अनुसन्धान सुरु गरेको थियो । 
यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा पक्राउ परेका छन् ।

त्यस्तै सोही प्रकरणमा खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्। यो मुद्दामा प्रतीक थापा, नीरज राईसहित १७ जना फरार छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update