TagaroNews
हामी संघीयताको मर्म अनुरुप जनताप्रति उत्तरदायि हुनुपर्छ: मुख्यमन्त्री पाण्डे
नेपाली काँग्रेस लमजुङको पार्टी कार्यालय भवनको शिलन्यासको क्रममा ।

बेसीशहर - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताको मर्म अनुरुप सरकार जनताप्रति उत्तरदायि हुनुपर्ने बताएका छन् । बिहिबार नेपाली काँग्रेस लमजुङको पार्टी कार्यालय भवनको शिलन्यास गर्न बेसीशहर आएका मुख्यमन्त्री पाण्डेले भने, ‘कुनैपनि विकास निर्माणका योजना पहुँचको आधारमा होइन, जनताको आवश्यकता हेरेर छनोट गर्नुपर्छ, सोहि अनुसार बजेट विनियोजन हुनुपर्छ ।’

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले जनप्रतिनिधीहरुले आफ्नो क्षेत्र वा लक्षित समुदायको निहित स्वार्थ भन्दा आवश्यकताको आधारमा साझा योजना छनौट गर्र्नुपर्ने बताए । अहिले प्रदेश सरकारमा यसअघिका दायित्व बढि रहेको र क्रमागत योजनामा बजेट खर्च गर्नुपर्ने भएकोले नागरिकको अति आवश्यकताको आधारमा  योजनाहरुलाई प्राथमिकता दिईने मुख्यमन्त्री उनले बताए । 

गण्डकी प्रदेश सरकारमा लमजुङबाट चारजना साँसदहरुले प्रतिनिधित्व गरेको भन्दै मुख्यमन्त्री पाण्डेले चारजना साँसदका चार थरी योजना भन्दा सबै साँसद एवं सिंगो पार्टीले निश्चित योजना छनौट गरी माग गर्न आग्रह गरे ।

कार्र्यक्रम नेपाली काँग्रेस लमजुङका सभापती एवं प्रदेश सभा सदस्य डा. टकराज गुरुङको अध्यक्षतामा भएको हो । सो कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सह महामन्त्री एवं मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डे, गण्डकी प्रदेश सभा सदस्य एवं कांग्रेसका निवर्तमान जिल्ला सभापती भेषबहादुर पौडेल, पुर्व सभापती एवं संविधान सभा सदस्य चन्द्रबहादुर कुँवर, पुर्व सभापती तुलसीनारायण श्रेष्ठ, पुर्व सभापती एवं सुन्दरवजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोईराला, नेका महाधिवेशन प्रतिनिधी बृषबहादुर गुरुङ, जिल्ला कार्यसमितिको तर्फबाट बरिष्ठ सदस्य गमप्रसाद गुरुङ लगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रममा नेका जिल्ला सचिव कृष्णबहादुर अधिकारीले सहजिकरण गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update