TagaroNews
लमजुङमा भोली भ्रष्टाचार बिरुद्ध विरोध सभा, कस्ता छन् कार्यक्रम ?

बेसीशहर - मुलुकमा व्याप्त भ्रष्टाचार बिरुद्ध लमजुङमा भोली मंगलबार बिरोध सभा गरिने भएको छ । पछिल्लो समय चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण सहितका भ्रष्टाचारका काण्डहरुलाई लक्षीत गर्दै नागरिक अगुवाहरुले सदरमुकाममा बृहत र्‍याली सहित बिरोध सभा गर्ने भएका हुन् । 

सो अभियानका अभियान्ताहरुले सोमबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै बिरोध कार्यक्रमबारे जानकारी गराएका थिए । नागरिक समाजका अगुवा बालकृष्ण बराल, खेमजङ्ग गुरुङ, तेजनारायण अधिकारी, पदमराज घले  लगाएतको नेतृत्वमा मंगलबार र्‍याली सहित बिरोध सभा गरिने बताइएको छ । भ्रष्टाचार विरोधी नागरिक अभियान नै सञ्चालन गरी कार्यक्रम गरिने भएको हो ।

अभियानले निकालेको एक विज्ञप्तीमा भनिएको छ, ‘जनताले पटक–पटक राजनीतिक परिवर्तनको लागि आहुती दिए, तर कुनै राजनीतिक परिवर्तनले देशमा प्रजातन्त्रलाई सुदृढ गर्न सकेन । न त आर्थिक र सांस्कृतिक परिवर्तनको आभाष जनतालाई दिन सक्यो । खाली नेता र उनिहरुकै आसेपासेहरू, आफन्तहरुले मात्र आर्थिक उन्नतीका अवसरहरू प्राप्त गरे । भित्रभित्रै देशलाई खोक्रो पार्ने खालका भ्रष्टाचार मात्र मिलेमतोमा हुँदै आए ।' 

विज्ञप्तीमा थप छ ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएको छ । नेपालीलाई भुटानी बनाउने त्यो पनि नेपाल भित्रै शरणार्थी भुटानी बनाएर लाखौं लाख रुपैंया अशुलेको र अमेरिका पठाइदिने आश्वासन दिएर नेपाली जनतालाई बेच्ने मानव बेचविखनकोे जघन्य अपराध गर्नेहरू राजनितिक दलका शिर्ष नेताहरु र गृह मन्त्रालयका शिर्ष कर्मचारी लगायत अन्य उच्च पदस्थ नेता तथा कर्मचारीहरू मात्र देखा परे । यस्तो जधन्य भ्रष्टाचारलाई सरकारले कार्वाहीको लागि कदम उठाउने प्रयास गरेको छ । यसमा कत्ति पनि खुट्टा नकमाई दोषीलाई कार्वाही गरोस भन्ने हाम्रो माग र सरकारको कदम प्रति ऐक्यवद्धता छ ।’

अभियानले देशमा ०४६ साल पछिका भ्रष्टचारका विभिन्न काण्डहरू जुन शक्तिको आडमा पार्टी र पार्टीका नेताले लुकाएर संरक्षण दिई आएका छन्, त्यी सबै काण्डहरूको पनि फाइल खोलि, अनुसन्धान गर्न र दोषीलाई कार्वाहीको घेरा भित्र ल्याउन समेत माग गरेको छ ।  यी तमाम भ्रष्टाचारलाई खबरदारी गरिने हुँदा भोली हुने बिरोध सभामा सबैलाई सहभागी हुन समेत नागरिक अभियानले अनुरोध गरेको छ । बिरोध तथा र्‍याली कार्यक्रम बिहान ११ बजे मनाङ्गे चौतारबाट शुरु भई बेसीशहर बजार परिक्रममा गरी समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत हुने नागरिक समाजका अगुवाहरुले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update