TagaroNews
भुटानी शरणार्थी प्रकरणः  पक्राउ परेका सबै थप तीन दिन हिरासतमा

काठमाडौँ - काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकृत दीपक दाहालले बताए ।  

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वसभासद आङटावा शेर्पा, विचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सागर शर्मा पोखरेल, गोविन्द चौधरी, सागर थुलुङ राई, सन्दीप रायमाझी, टंक गुरुङसहित १६ जना पक्राउ परेका छन् ।

संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

यसअघि प्रहरीलाई अदालतले आइतबारसम्म मात्रै थुनामा राख्ने अनुमति दिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update