TagaroNews
शरणार्थीको नाममा ठगी धन्दा: अनुसन्धानको पूरा प्रतिवेदन आज बुझाउँदै प्रहरी

काठमाडौँ – शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउनलेहरु विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ । शनिबार सरकारी वकिलको रोहवरमा प्रहरीले पूर्व सांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाको बयान गरेको थियो ।

बयान पूरा भएसँगै अनुसन्धान अधिकृतहरूले राय लेखिरहेका छन् । आज कार्यालय समयमा राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले बताए ।

भुटानी शरणार्थीको कोठामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित १६ जना प्रहरीको हिरासतमा छन् ।

अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रहरीले ३ वटा कसुरमा सजाय गर्न मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिँदै छ । राष्ट्रहित प्रतिकुलको कसुर, ठगी र किर्ते सम्बन्धी कसुरमा अधिकतम सजाय हुनुपर्ने मागदावी लिएर अदालतमा मुद्दा लैजान राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।

३ वटा कसुरसँगै ‘सङ्गठित अपराध’ र ‘एकीकृत कसुर’ बापत थप सजायको मागदावी गर्नुपर्ने प्रहरीको जिकिर छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update