TagaroNews
ग्राहकको डेढ करोड ठगी, एभरेष्ट बैंकका म्यानेजरसहित ९ जना पक्राउ

धरान – एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । 

ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए ।

एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए । 

पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, कनिष्ट सहायकहरू भोजपुरका मनोज घिमिरे, इटहरीका देवराज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन् । त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राइले बताए । 

एभरेष्ट बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कन्ट्र्याक आइपीएसमार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेकमार्फत् झिकेर हिनामिना गरेको पाइएको डीएसपी राईले बताए ।  उनले बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको बताए ।

पक्राउ परेका एभरेष्ट बैंकका कर्मचारीलाई बैंकिङ कसुर र संगठित अपराध निवारन एन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी राईले बताए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update