
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
त्यो अडियोसहित विभिन्न सञ्चारमाध्यमहरुमा समाचारहरु प्रकाशित भएका थिए । उक्त समाचार उजुरीको रुपमा दर्ता भइसकेको अख्तियार उच्च स्रोतले जनाएको छ । सांसदहरु सार्वजनिक पदमा बसेका व्यक्ति रहेकाले उनीहरुले पैसा मागेमा त्यसलाई घुसका रुपमा लिइने र यसमा भ्रष्टाचारको आरोप आकर्षित हुने अख्तियार स्रोतको भनाई छ ।
आफूकहाँ आइपुगेका उजुरीहरु केलाउन अख्तियारले सचिवको संयोजकत्वमा सबै महाशाखाका प्रमुखहरु रहेको उजुरी छनौट समिति(स्कृनिङ टिम) गठन गरेको हुन्छ । हप्ताको तीन दिन त्यो समितिको बैठक बस्छ । अख्तियारस्रोतका अनुसार, त्यो बैठकबाट निर्णय भएमा यो मुद्दाको पनि अनुसन्धान अघि बढ्ने छ ।