
काठमाडौं – दक्षिण एसियाली फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत आमनेसामने हुने भएका छन् ।
भारतको बेङ्गुरुमा जुन २१ देखि जुलाई चार सम्म हुने प्रतियोगितामा नेपालले समूह ‘ए’मा आयोजक भारत, आमन्त्रित टिम कुवेत र पाकिस्तानको सामना गर्नेछ ।
दक्षिण एसियाली फुटबल संघले आज सार्वजनिक गरेको ड्रअनुसार नेपालले निटकतम प्रतिद्वन्द्वी भारतकै समूहमा परेको थियो । यसअघि माल्दिभ्समा भएको पछिल्लो संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदा उपाधि उचाल्न असफल भएको थियो ।
यसपाली दक्षिण एसियाका बाहेक कुवेत र लेबनान पनि सहभागिता जनाउँदैछन् । प्रतियोगितामा सहभागी आठ टिम दुई समूहमा विभाजित छन् । दुवै समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
साफले आजै सार्वजनिक गरेको खेल तालिका अनुरा नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारत र जुन २७ मा पाकिस्तानसँग खेल्ने छ ।
समूह ए- भारत, कुवेत, नेपाल, पाकिस्तान
समूह बी- लेबनान, माल्दिभ्स, भुटान, बंगलादेश