TagaroNews
२५ जना पर्यटनदूतको नियुक्ति खारेज 

काठमान्डौँ—विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा नियुक्त गरेका विभिन्न मुलुक र शहरहरुमा तोकिएका अवैतनिक पर्यटन दूतको नियुक्ति आइतबार खारेज गरेको हो । 

मन्त्रालयले तत्कालीन मन्त्रीको कार्यकालमा बनाइएको पर्यटनदूत सम्बन्धी कार्यविधि पनि खारेज गरेको छ । नयाँ कार्यविधि बनेको भन्दै मन्त्रालयले नेपाल बाहिर नेपाल चिनाउन अब बिना पारिश्रमिक पर्यटक प्रवर्द्धक नियुक्त गर्ने बताइएको छ । उनीहरूको पदावधि दुई वर्ष हुनेछ ।

विदेशमा रहेर पर्यटन सम्बन्धी व्यापारमा कम्तीमा १० वर्ष बिताएको, ख्याती आर्जन गरेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, नेपालप्रति सद्भाव र रुची भई नेपालको पर्यटन, खेलकुद, संस्कृति, कला प्रवर्द्धनमा कम्तीमा १० वर्षदेखि क्रियाशील रहेर राष्ट्रिय वा अन्तर्राष्टियस्तरमा ख्याती आर्जेको नेपाली, गैरआवासीय वा विदेशी नागरिकलाई पर्यटन मन्त्रालयले पर्यटन प्रवर्द्धक नियुक्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

कुनै पनि मुलुकमा शरणार्थीका रुपमा रहेको नागरिकलाई भने यस्तो नियुक्ति नदिइने जनाइएको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धकको काम सन्तोषजनक नलागेमा जुनसुकै बेला हटाउन सक्ने जनाएको छ । यसअघि पर्यटन बोर्डले पर्यटन दूत नियुक्ति गर्ने गरेको थियो । आम निर्वाचनअघिका पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा बोर्डको अधिकार मन्त्रालयमा तानिएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update