TagaroNews
आज टर्कीको आम निर्वाचन

काठमाडौं- टर्कीमा आइतबार आम निर्वाचन भइरहेको छ । आगामी १०० वर्षलाई ‘टर्कीको शताब्दी’को फ्रेमवर्क भनेका राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि यो चुनाव महत्वपूर्ण बनेको छ ।

मे १४ अर्थात् आजको चुनावले एर्दोगानको दुई दशक लामो शासनले निरन्तरता पाउँछ वा वर्तमान कार्यकारी राष्ट्रपति प्रणालीबाट सरकार संसदीय प्रणालीमा फर्किन्छ भन्ने निर्णय गर्नेछ ।

टर्कीले सन् १९५० को मे १४ मै पहिलो निष्पक्ष बहुदलीय मतदान गरेको थियो । त्यसैले अहिलेको राष्ट्रपति र संसदीय निर्वाचनलाई पनि महत्वपूर्ण तरिकाले हेरिएको छ ।

गत अक्टोबरमा मुद्रास्फीति ८५ प्रतिशतमा पुगेको र फेब्रुअरीमा आएको भूकम्पले ५० हजार भन्दा बढीको ज्यान लिएयताको संकटपूर्ण अवस्थामा टर्कीमा निर्वाचन भइरहेको हो ।

सन् २००३ मा सत्तामा आएका एर्दोगान आफ्नो पार्टी न्याय र विकास ९एके० ले थप विकास र सुधारमा काम गर्ने प्रतिबद्धतासहित चुनावमा छन् ।

एर्दोगानको हातमा शक्ति केन्द्रित राष्ट्रपति प्रणाली अन्तर्गतको यो दोस्रो राष्ट्रिय चुनाव हो । यो चुनावमा एर्दोगानका मुख्य प्रतिद्वन्द्वी विपक्षी एवं रिपब्लिकन पिपुल्स पार्टीका लिडर केमाल किलिचदारोग्लु रहेका छन् ।

उनले आर्थिक कुव्यवस्थापनलाई सम्बोधन गर्दै थप प्रजातान्त्रिकरण  एवं एर्दोगानको एक व्यक्ति शासनलाई हटाउने प्रतिबद्धता गरेका छन् ।पछिल्ला सर्वेक्षणले रिपब्लिकन पिपुल्स पार्टीका लिडर किलिचदारोग्लु एर्दोगान भन्दा अघि रहेको देखाएको छ । तर, एर्दोगान एकेपार्टीले ६०० सदस्यीय संसद्‌मा भने सबैभन्दा बढी सिट जित्ने आँकलन गरिएको छ ।

देशभरका ६ करोड बढी मतदाताले आगामी पाँच वर्षका लागि सोझैं राष्ट्रपति चयन र ६०० सांसद छान्नका लागि मतदान गर्दैछन् । ५० प्रतिशत बढी मत ल्याउने राष्ट्रपति बन्नेछ । यदि कसैले पनि ५० प्रतिशत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुईबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

एर्दोगान र किलिचदारोग्लु बाहेक राष्ट्रपतिको लागि एन्स्टेरल एलायन्स एटीएका ५५ वर्षीया सिनान ओगन प्रतिस्पर्धामा छन् । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान खुला गरिएको छ । अल्जजिरा

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update