TagaroNews
सडक निर्माण रोक्न माग गर्दै हाइटेन्सन लाइनको पोलमा चढे युवक 

विराटनगर- मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् । 

बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् ।

गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।  

अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन् । बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् ।

ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।’ अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने वातावरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update