TagaroNews
मनाङमा बाह्य पर्यटकको लर्को, चार महिनामा ८ हजारले मनाङ घुमे
फाइल तस्बिर ।

मनाङ – हिमाली जिल्ला मनाङमा पछिल्लो समय बाह्य पर्यटकको लर्को लागेको छ । बाह्य पर्यटक भित्रिएसँगै स्थानीय व्यवसायीलाई भ्याइनभ्याइ छ भने, कोभिड पछिको राहत मिलेको छ ।

सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा ८ हजार २ सय २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङको तथ्याङ्कले देखाउँछ । सन् २०२३ को ४ महिनामा ५ हजार ५६ पुरुष र ३ हजार १ सय ६३ महिलाले मनाङ हुँदै विश्व चर्चित अन्नपूर्ण पदमार्गको यात्रा गरेका हुन् ।

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएको एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार जनवरीमा ४२ देशका १ सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएका थिए । जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिकले मनाङ भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ । 

कोभिड–१९ को त्रास केहि कम भएसँगै विश्वभरबाट पर्यटक नेपाल आउने क्रम बढेको पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइमा मनाङ हुँदै अन्नपूर्ण पदमार्ग पर्छ । फरक भु–धरातल, छुट्टै खालको प्राकृतिक स्वरुप भएको जिल्ला भएकाले पनि पर्यटकहरुको घुँईचो लाग्छ ।

मनाङ पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्छन् भने, धेरैले विश्व प्रसिद्ध थोरङला भञ्ज्याङ्ग पास गर्छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update