TagaroNews
१३२ केभी प्रसारण लाइन पूर्ण सञ्चालनमा

लमजुङ– लमजुङको दोर्दी खोला करिडोर र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चारवटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेसीशहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड मात्र सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पु¥याएका टावरको पुनर्निर्माणमा समय लाग्दा वैकल्पिक व्यवस्थाको रुपमा निजि क्षेत्रले निर्माण गरेका प्रसारण लाइन प्रयोग गरी आंशिक खण्ड सञ्चालन गरिएको थियो । 

टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत् आयोजनाहरूको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको छ ।

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ दशमलव १ मेगावाटको दोर्दी खोला–१ र ८ दशमलव ६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन् ।  ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत परिक्षण उत्पादनमा रहेकाले केहि समयमै जोडिनेछ । 

१० मिलोमिटर लम्बाइ रहेको दोर्दी करिडोर प्रसारण लाइन करिब ८५ करोड रुपैयाँ लागतमा सरकारको लगानीमा निर्माण गरिएको हो । आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update