TagaroNews
‘मुलुकी संहिता अध्यादेश’ पारित, मिटरव्याजीलाई सात वर्ष जेल 

काठमाडौं - ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ प्रतिनिधिसभाबाट पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको अध्यादेश बहुमतले पारित भएको हो ।

योसँगै अब मिटरब्याज पीडितहरूले न्याय पाउने भएका छन् । गत बुधबार सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ ल्याएर राजपत्रमा प्रकाशित गरेसँगै पीडितले न्याय पाउने बाटो खुलेको हो ।

सरकारले मिटरब्याजीलाई सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था गरेको छ । कैद र जरिवानाको कुरा मुलुकी आचारसंहिता, २०७४ को संशोधन उपदफा ४ मा उल्लेख छ । 

अनुचित लेनदेनको आधारमा ऋणीबाट रकम वा कुनै अन्य अचल सम्पत्ति लिएमा सम्बन्धित ऋणीलाई त्यस्तो रकम वा अचल सम्पत्ति बराबरको रकम कसुरदारले तिर्नुपर्ने व्यवस्था त्यहाँ राखिएको छ । 

त्यस्तै लिखत तयार गर्दा साहु र ऋणीको कम्तीमा एक–एक जना साक्षीको नाम, थर, ठेगाना हुनुपर्ने व्यवस्था राजपत्रमा उल्लेख छ । तर, एक लाख रुपैयाँभन्दा बढीको लेनदेन कारोबार नगदै वा घरसारमा गरेको भएमा त्यस्तो रकम नभराउने पनि उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update