TagaroNews
पूर्व गृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमती दिएको सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले बताए ।

खाँण बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका थिए । नक्कली शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update