TagaroNews
अन्नपूर्ण हिमाल सफा गरेर फर्कियो सेना

म्याग्दी – म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर संकलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो । 

आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मंगलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहोर संकलन गरेका थिए ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोली आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहोर संकलन गरेको थियो । 

एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहोर संकलन भएको टोलीले जनाएको छ । कुहिने फोहोर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ ।

नकुहिने फोहोर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको थियो । आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहोर ट्रकमा राखेर दानाबाट काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहोर काठमाडौं लगिएको हो । 

आरोहण भएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update