TagaroNews
नक्कली शरणार्थी प्रकरणः हालसम्म ११ जना पक्राउ

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म ११ जना पक्राउ परेका छन् । अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ११ जना पक्राउ परेका हुन् । 

उक्त घटनाको अनुसन्धानका लागि खाँणलाई उनकै निवासबाट आज प्रहरीले पक्राउ गरेको हो । यसअघि मंगलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । 

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको प्रहरीमा जाहेरी दिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update