TagaroNews
लमजुङ : पालिकामा कर्मचारीको लापरबाही हचुवामा सम्झौता, छैन अनुगमन
सुन्दरबजार नगरपालिका कार्यालय ।

सुन्दरबजार – कुनैपनि योजना सुरुवात गर्नुपूर्व त्यसको छनोट हुन्छ, निरीक्षण हुन्छ र कामका लागी प्रक्रिया अनुसार सम्झौता गरिन्छ । सम्झौता पश्चात कार्यप्रगतिको अनुगमन हुन्छ । तर, सुन्दरबजार नपा–६ का दुई सडकमा हचुवाको भरमा सम्झौता गरी सडक कालेपत्रे र ढलान गरिएको छ । 

एकातिर नगरपालिकाको कर्मचारीको हचुवा सम्झौता र अर्कोतिर निर्माण कार्यको कार्यप्रगति बारे समयमै अनुगमन नहुँदा अहिले उपभोक्ता समितिले पाउनुपर्ने भुक्तानी नै रोकिएको छ । काम सकिएको महिनौ सयम बितिसक्दा पनि भुक्तानी नमिलेपछि अहिले दैनिकजसो उपभोक्ता समिति नगरपालिका कार्यालय धाउने गरेका छन् । 

सडक अन्तर्गत सुन्दरबजार– ६ मा रहेको पन्चा नब्बे मार्गको २ सय १५ मिटर सडक कालोपत्र गरिएको छ । सो कालोपत्र गरेको सडकको बायाँतर्फ अहिले झार उम्रिसकेको छ । सो सडक श्रमदान सहित १७ लाख १ हजार ६३३ रुपैयाँमा निर्माण सम्झौता भएको देखिन्छ ।

सडक कालोपत्रका लागी छाप नै नभएको सम्झौता पत्र ।

'मुल्याङ्कन उठाएपछि नगरपालिकाले अनुगमन गर्ने हो, अनुगमन संयोजक समेत रहेकी उपमेयर भवानी केसीले भनिन् ‘अहिले कालोपत्रमा बिग्रीएको सामाग्री हालेको भन्ने पनि सुन्छु, हामीले पछि हेर्दा झार पनि उम्रेको छ ।' 

कालोपत्र सडकमा उर्मेको झार ।

यता साना किसान जाने चोक हुँदै शित्तल चौतारी जाने सडक १ सय ३० मिटर ग्याभिन सहित ढलान गरिएको छ । यो सडक श्रमदान सहित ३९ लाख ३५ हजार ११५ रुपैँयामा सम्झौता भएको उल्लेख छ । 

सडक ग्याभिन सहित ढलानका लागी छाप नै नभएको सम्झौता पत्र ।

‘यो सडकमा सम्झौता नै नगरी काम सुरु भएको पाइयो, उपमेयर केसीले भनिन् ‘पालिकाको निर्णय अनुसार सडकको मापदण्ड (दाँया–बाँया ६ मिटर) ढलान पनि भएको छैन, जानकारी नै नदिइ काम गरेको छ, नियममा त जानु पर्यो नि, कार्यविधि अनुसार पो काम हुन्छ त, मनलाग्दी चल्छ ? उनले भनिन् ‘पछि सम्झौता त भयो, तर नियम अनुसारले काम नभएकाले नै भुक्तानी रोकिएको हो ।’

साना किसान जाने चोक हुँदै शित्तल चौतारी जाने सडक ।

यता दुबै योजनाको सम्झौता हेर्दा सम्झौतामा न छाप लगाइएको छ, तर पूर्ण विवरण नै उल्लेख छ । हचुवाको भरमा सम्झौता गरेको देखिन्छ । 

सम्झौताबारे योजना अधिकृत ऋषि राम पौडेलसँग बुझ्दा उनले भने, ‘हामिले सबै योजना यसरी नै गर्दै आएको छौँ, खासै फरक पर्दैन, उपभोक्ता समितिको निवेदनमा छाप छदैँछ, अरु कुरा त अन्तिममा गर्ने त होनी, भन्ने कार्यविधि विपरितको जवाफ दिए ।’ 

प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले भने, ‘सम्झौतामा पूरा विवरण नखुलाउनु र उपभोक्ता समिति र पालिकाकै छाप नलगाउनु त कार्यविधि विपरित नै हो, म नभएको बेला भएको सम्झौता हो, मैले अहिले सडकको झार उक्काउन लगाएको छु भन्दै पन्छिए ।’

‘यो दुबै योजनाको काममा लापरबाहि नै देखिन्छ, नगर प्रमुख कृष्णप्रसाद कोइरालाले भने, ‘कालोपत्र सडकमा मध्यपहाडी लोकमार्गको ३ बर्ष देखि डम्पिङ भएको गुणस्तरहिन सामाग्री प्रयोग भएको पाइयो, उता ढलान सडकमा चै मापदण्ड नपुगेकै हो । गलत गर्नेलाई नगरपालिकाले संरक्षण गर्ने कुरै भएन, अब मुल्याङ्कन सहित गुणस्तरिय र मापदण्ड अनुसार काम भएमात्र भुक्तानी हुन्छ ।’


पूरा विवरण नै नभएको सम्झौता पत्र ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update