TagaroNews
५४ मेगाको सुपर दोर्दी ‘ख’ को बिजुली राष्ट्रिय ग्रिडमा 
आयोजनाको परिक्षण उत्पादनको सुरुवात पश्चात अवलोकन गर्दै अतिथिहरु ।

लमजुङ – दोर्दी खोला करिडोरमा निर्माण सम्पन्न सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाको विद्युत शनिबारदेखि केन्द्रिय ग्रिडमा जोडिएको हो ।

आयोजनाको निर्माण पूरा गरी परिक्षण सफल भएपछि ग्रिडमा जोडेर परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको  किर्तीपूर  सबस्टेसनमा जोडिएको छ ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलाको बाढी तथा कोरोना महामारीका कारणले निर्माण प्रभावित हुँदा धकेलिँदै गएको हो । २०७४ सालमा सुरु भएको आयोजनाको निर्माण कार्य २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाबाट वार्षिक ३१४.९८३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा बढ्ने देखिएको कम्पनीले जनाएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीे छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update