TagaroNews
सेवा थप्दै नमूना
एच.डि.सि.एस नमूना सामूदायिक अस्पताल ।

लमजुङ – सुन्दरबजारमा रहेको एच.डि.सि.एस नमूना सामूदायिक अस्पतालले एक पछि अर्को सेवा बिस्तारमा जोड दिएको छ । अस्पतालले अहिले निशुल्क प्रसुती सेवा सञ्चालनमा ल्याएको छ ।

‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत अस्पतालले निशुल्क प्रसुति सेवा उपलव्ध गराएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार उक्त सेवा सञ्चालनका लागि सुन्दरबजार नपा र अस्पताल बिच गत बिहिबार सम्झौता भएको छ । 

नगरपालिका र अस्पताल बिच सम्झौता ।

अस्पताल प्रमुख श्रेष्ठले भने, ‘हामीले व्यवस्थापनको जिम्मा लिएसँगै स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सुरु गरिसक्यौँ, अब यो कार्यक्रम उपलव्ध भएपछि निशुल्क प्रसुति सेवा समेत सुरु गरिएको छ ।’  अस्पतालमा विशेषज्ञ सहितको निशुल्क प्रसुति सेवा सुरु भएसँगै नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सुरक्षित प्रसुति सेवाको लागि एचडिसिएस नमूना सामूदायिक अस्पतालमा रिफर गर्न सक्ने भएका छन् ।

यसअघि चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र, कुन्छा स्वास्थ्य चौकी र सुन्दरबजार अस्पतालमा प्रसुति सेवा उपलब्ध भएपनि यी संस्थाहरुमा सुत्केरी गराउनेको संख्या अत्यन्तै न्यून थियो । प्रायले प्रभावकारी सेवा नपाउँदा वाह्य जिल्ला नै लग्थे ।

अहिले अस्पतालमा छुट्टै प्रसुति विभाग र गाईनोलोजिष्ट सेवा समेत उपलब्ध गराइएको छ । सदरमुकाम बेसीशहरमा सुरक्षित प्रसुति सेवालाई प्रभावकारी रुपमा संचालन गरेको एचडिसिएसले नमूना सामूदायिक अस्पतालमा समेत प्रसुति वार्ड व्यवस्थापन गरिसकेको छ । 

अस्पतालबाट गर्भवती महिलाहरुले निःशुल्क परामर्श, स्वास्थ्य चेकजाँच, गर्भवती परीक्षण, प्रसुति सेवा लगायतका सेवा लिन सक्नेछन् । एचडिसिएस नमूना सामूदायिक अस्पतालमा निःशुल्क प्रसुति गराउने महिलाहरुले सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत पाउने २ हजार रुपैयाँ, न्यानो झोला, गर्भावस्थामा नियमित परीक्षण गराउनेलाई थप ८ सय रुपैयाँ उपलब्ध हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update