TagaroNews
प्राधिकरणको लापरबाही: बेसीशहरमा बिना सूचना मनलाग्दी लाइन कटौती 

लमजुङ-  झ्याप्प झ्याप्प लाइन जानू लमजुङमा नौलो कुरा नै होइन । पछिल्लो समय नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले बिना सूचना मनलाग्दी रुपमा लाइन कटौती गर्दा झन समस्या चुलिएको छ । जसले स्थानीयलाई प्रत्यक्ष असर गरेको छ । 

शनिबार बिहानै देखि सदरमुकाम बेसीशहरका विभिन्न ठाउँमा लाइन छैन । बेसीशहर नपा -८ स्थित विद्याविकास क्षेत्र लगाएतका स्थानमा त एकाबिहानै देखि विद्युत कटौती भएको छ । यस एरियामा फर्निचर, ग्रिल, आइसक्रिम लगाएतका उद्योग, जिम हल संचालित छन । अन्य व्यवसायहरु पनि छन । यसरी बिना सूचना बिधुत काट्दा स्थानिय र ब्यबसायीलाई प्रत्यक्ष असर पुगेको छ । 

प्रधिकरणले बिना सूचना बेसीशहर क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि झ्याप्प झ्याप्प लाइन कटौती गरिरहेको छ । स्थानीय ग्रिल उद्योग व्यवसायी जीत गुरुङले भने, 'लाइनबारे बुझ्न कार्यालयको टेलिफोन नम्बरमा कल गर्दा पनि फोन लाग्दैन, व्यवसाय कहिले त दिनभर ठप्प गर्नुपर्छ। यसरी त हामी व्यवसायीहरु दिनमै लाख भन्दा बढी घाटा व्यहोर्नुपर्ने अवस्था छ ।'

विद्युतकै समस्याले हैरानी ब्यहोरेका अर्का बाइक ग्यारेज व्यवसायी सन्तोष थापा भन्छन् 'लाइन नहुँदा एउटा बाइक सम्म धुन पाइएन, ग्राहक त्यसै फर्किए, अन्य काम त यसै प्रभावित छ ।' समस्याबारे कार्यालयमा बुझ्दा पुरै फिडर सटडाउन गर्दा मात्र सूचना दिने र १/२ वटा ट्रान्सफर्मर काटेर गर्दा सूचना नदिने भन्ने लापरबाहीपुर्ण जवाफ आउने गरेको स्थानीय बताउँछन् ।

यता कार्यालय प्रमुख मेघनाथ भट्टराईले तगारो न्युजसँग भने 'अहिले बजार क्षेत्रमा नाङ्गो तार हटाएर केवल राख्ने काम भैरहेको छ, त्यो भएर विद्युत काटेको होला, सूचना त स्थानीय क्षेत्रमा त्यहीँ काम भएको देखिन्छ भनेर नदिएको हो, भोलिदेखी अनिवार्य दिन्छौं ।' साँझ ५ बजेसम्म सक्ने गरि काम गर्न प्राविधिकहरुलाई भनेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update