TagaroNews
बजारमा नक्कली नोटको बिगबिगी : दुई जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले पाँच सय र एक हजारको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

गोकर्णेश्वरको नयाँ बस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किन‍िरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकी सम्झनासँग सोधपुछका क्रममा बागबजारको युनिक होटलमा कोठा लिई बस्ने हलुवालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग एक हजारको ४९ थान नोट बरामद गरेको छ ।

पक्राउ परेकासँग प्रहरीले प्रिन्ट गरेको काट्न बाँकी एक हजारको नोट एक सय २६ थान, तयारी ५०० को नोट दुई थान, प्रिन्ट गरेको काट्न बाँकी ५०० को नोट ६० थान, प्रिन्ट मेसिन एक थान, कृषि विकास बैँकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर एक रिम र दुईथान मोबाइल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update