TagaroNews
माथिल्लो मिदिमबाट जेठभित्र बिजुली
माथिल्लो मिदिम जलविद्युत आयोजनाको पावर हाउस ।

लमजुङ – मिदिम खोलामा निर्माणाधीन ७ दशमलव ५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

भुजुङ हाइड्रो पावर कम्पनीले ०७७ सालदेखि निर्माण सुरु गरेको यस आयोजनाको करिब ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । यही बैशाखभित्र उत्पादन सुरु गर्ने लक्ष्य भएपनि ट्रान्समिसन लाइन जडानमा ढिलाई हुँदा उत्पादन तालिका केहि पर सरेको कम्पनीका वित्तीय व्यवस्थापक दिनेशराज पन्तले बताए । उनका अनुसार आयोजनाको सिभिल संरचनाको काम भने अन्तिम चरणमा पुगेको छ । 

‘अहिले ट्रान्समिसन लाइन जडानको काम भइरहेको छ, उनले भने, उक्त ट्रान्समिसन लाइन जडानको काम अहिलेसम्ममा ७० प्रतिशत पुरा भएको छ ।’  आयोजनाको ३ हजार ७ सय ३५ मिटर लामो पाइप जडानको काम भने ९० प्रतिशत पुरा भएको छ । आयोजनाबाट उत्पादित विद्युत जोडिने २५ किलोमिटर लामो प्रसारण लाइनको काम पनि अन्तिम चरणमा छन् । आयोजनाको काम पूरा गरेर २०८० जेठ १५ गतेसम्ममा उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको पन्तले जानकारी दिए । आयोजनाको सबै संरचनाको काम सकिएपछि उत्पादन परीक्षण काम सुरु गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाका लागि २०७८ साउनमा विद्युत उत्पादन गर्ने तालिका तोकेको थियो । तर, कोरोना महामारीका कारण निर्माण कार्यमा धेरै प्रभावित हुँदा विद्युत उत्पादन अवधि पछि धकिलिएको हो । आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि विद्युत २५ किलोमिटर टाढा रहेको प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले आयोजना निर्माण गर्न २०७६ भदौ २६ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएको थियो । १ अर्ब ४४ करोड रुपैयाँ लाग अुनमान गरिएको आयोजनामा कुमारी बैंकको अगुवाई सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी, २५ प्रतिशत स्वँपूजी लगानी छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update