TagaroNews
एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पनि पक्राउ पुर्जी

काठमाडौं- पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो।

रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए। टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।

२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।

कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो। 
अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो। 

त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको उच्च स्रोतले बतायो। 
त्यसमा भएका चार वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख भएको उनले बताए। बाँकीका नाम भने पछि थपिएको पाइएको उनले बताए। 

इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो। 

उक्त जाहेरीको आधारमा प्रहरीले केशव दुलाल लगायतलाई पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला परिसर काठमाडौंमा पठाएको हो।
परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update