TagaroNews
प्रचण्डको तेस्रो इनिङ

काठमान्डौ । दश वर्ष सशक्त संघर्षको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीका रूपमा तेस्रो इनिङ सुरु भएको छ।  सात दल र तीन स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रचण्ड आजै प्रधानमन्त्रीमा नियुक्त भएका छन्। यो उनको तेस्रो कार्यकाल हो। 

प्रचण्ड पहिलेपटक ३१ साउन ०६५ मा प्रधानमन्त्री बनेका थिए। २४ चैत ०६४  मा भएको पहिलो संविधानसभा निर्वाचनपछि १५ जेठ २०६५ मा मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको औपचारिक घोषणा भएको थियो। 

गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री बनेका प्रचण्डको पहिलो कार्यकालमा नौ महिनाको थियो। उनको सरकारलाई एमाले, मधेसी जनअधिकार फोरमको समर्थन थियो। तर, तत्कालीन सेनापति रुक्मांगद कटवालमाथि सरकारले गरेको कारबाहीलाई तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले हस्तक्षेप गरी पुनर्स्थापना गरेपछि २१ वैशाख ०६६ मा प्रचण्डले राजीनामा दिएका थिए। 

त्यसपछि उनी १९ साउन ०७३ मा दोस्रोपटक प्रधानमन्त्री बने। त्यसवेला उनलाई कांग्रेस, मधेसी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपासहितका दलले समर्थन गरेका थिए। प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा ३१ वैशाख ०७४ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन गराएका थिए। त्यसपछि कांग्रेससँगको सहमतिअनुसार १० जेठ ०७४ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। 

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पहिलेभन्दा कमजोर बन्दै तेस्रो दलमा रहे पनि माओवादीले पूर्वसहमतिअनुसार सरकारको दाबी गरिरहेको थियो। 

कांग्रेसले दुई वर्षका लागि सरकारको नेतृत्व दिन तयार भए पनि आलोपालो गर्दा पहिलो नेतृत्व पाउनुपर्ने माओवादीको दाबी कांग्रेस सभापति शेरबहादुर देउवालाई लगातार अस्वीकार गरेपछि उनले आजै एमालेसँग निर्णायक वार्ता गरेका थिए। 

एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीले पनि उनलाई समर्थन गर्यो। यस्तै, स्वतन्त्र रूपमा निर्वाचित भएका प्रभु साह, किरणकुमार साह र डा। अमरेशकुमार सिंहसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आजै राष्ट्रपति कार्यालय पुगेका थिए। त्यसपछि राष्ट्रपतिले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

यो उनको तेस्रो कार्यकाल हो। एमालेसँगको सहमतिअनुसार उनी साढे दुई वर्ष प्रधानमन्त्री रहनेछन्। त्यसपछि एमालेले साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको नेताहरूले बताएका छन्। 

sourcr- Nayapatika

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update