TagaroNews
आठ बर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्यो 
तातोपानी नाकाबाट सामाग्रीसहित चिनतर्फ लाग्दै कन्टेनर ।

काठमान्डौँ - ०७२ को विनाशकारी भूकम्प पशचात आयात मात्र भइरहेको चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट सामाग्री निर्यात खुलेको छ । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार भोटेकाशी गापा–२ बाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको हो । यसअघि भएको मौखिक सहमति अनुरुप सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको उनले बताए । 

नाकाबाट निर्यात खुलाइएको छ, दुवैतर्फ कन्टेनर आउजाउ चलेको छ,’ प्रजिअ न्यौपानेले भने, अब नाका नियमित खुल्छ कि भन्ने आशा छ ।’ नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुँदै आएका थिए । 

नाकाबाट सुरक्षित रुपमा कन्टेनर जाँदै नाका खुलेपछि स्थानीयमा खुसी छाएको छ  । चीनको खासाका व्यापारीले खरिद गरेका तीन कन्टनेर यी सामाग्री खासा र ल्हासा पुग्नेछन् । भूकम्प गएको चार वर्षपछि मालवाहक रुपमा बल्ल खुलेको तातोपानी नाकामा सडक, बन्दरगाहदेखि मितेरी पुल चीनको दुई कम्पनी ताइन सुन र सीआरसीसीले बनाइदिएका थिए । 

१५ चैतमा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमति भएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update