
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर २०२७ वैशाख ६ गते स्थापना भएको नेपाली विद्यार्थीहरुको गौरवशाली विद्यार्थी संस्था नेपाल विद्यार्थी संघ ५४ औं वर्षमा प्रवेश गरेको छ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर हाल नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुहुन्छ, त्यसपछि भने अधिवेशन हुन नसकेको एक दशक पुग्न आँटेको छ ।
नैनसिंह महरपछि टिका लगाएका राजिव ढुङ्गाना पनि हाल पार्टीको केन्द्रिय सदस्य छन् । नेवि संघमा ३२ वर्षको उमेर हदबन्दी लागेपछि हाल नेवि संघको केन्द्रिय अध्यक्ष दुजाङ शेर्पा छन् । उनी अध्यक्ष भए पश्चात् हालसम्म विभिन्न जिल्लामा अध्यक्षको चिठ्ठी बाड्ने काम चलिरहेको छ, कतिपय जिल्ला एउटै जिल्लामा २–३ जनाको नाममा चिठ्ठी गएको छ भने कतिपय क्याम्पस इकाईमा शेर्पा आफैले इकाई सभापति र सचिवको चिठ्ठीसमेत बाँड्न भ्याएका छन् ।
नेताको खल्ती र टिके प्रथाबाट नेतृत्वमा पुगेका व्यक्तिहरु नेपाल विद्यार्थी संघको आदर्श, सिद्धान्त तथा विचारबाट च्यूत हुदै आफूलाई नेतृत्वमा पुर्याएका नेताहरुको स्वार्थ, चाहना र इच्छा बोकेर हिँडिरहेका छन् । सिद्धान्त, विधि, विधान र विचारलाई भुल्दा नेपाल विद्यार्थी संघको नेतृत्वमा रहेकाहरु विद्यार्थी र शैक्षिक एजेण्डा भन्दापनि निश्चित नेताको स्वार्थ र गुटमा मात्र केन्द्रित हुन पुगेका छन् ।
साँच्चै विधि र विधानलाई पालना गर्ने हो भने प्रत्येक २–२ वर्षमा नेपाल विद्यार्थी संघको नेतृत्व अधिवेशन मार्फत आउनुपर्ने हुन्छ तर मातृ पार्टीको अनावश्यक हस्तक्षेप र भागबन्डामा समिति निर्माण गरिनुपर्ने सिमित नेताका स्वार्थका कारण नेवि संघ मात्र होइन तरुण दल, महिला संघ, दलित संघ, किसान संघ, भू.पु. सैनिक संघ लगायत नेपाली कांग्रेसका भातृ संस्थाहरुको अवस्था निकै कमजोर र दयनीय बन्न पुगेको छ ।
टिकेप्रथाबाट आएका अध्यक्ष र केही सिमित कार्यसमितिले मात्र संगठन चलाउदै आएका छन् ।मातृपार्टीको यही गतिविधिका कारण आज पार्टीले देशका दुई ठूला निर्वाचन क्षेत्र गुमाउनु परेको तितो यथार्थ हामीसामु जीवित नै छ । हालै सम्पन्न चितवनको क्षेत्र नं २ र तनहुँको क्षेत्र नं १ मा नेपाली कांग्रेसको राम्रो पकड भएको क्षेत्र हुदाहुदै पनि नेतृत्वले गरेका चरम गुटबन्दी र कमजोर सङ्गठनका कारण पार्टीका उदयमान नेताहरु पराजित हुनुपरेको छ ।
पार्टीले निर्वाचनमा क्रममा गठबन्धन गरेका कारण हजारौं कार्यकर्ताहरु त्यसबाट खुसी हुन सकिरहेको अवस्था छैन, कमजोर सङ्गठन, परिवारवाद र पार्टीमा गलत व्यक्तिको हस्तक्षेपले आज नेपाली कांग्रेस यो अवस्थासम्म आइपुगेको छ ।
आज वर्तमान अवस्थामा देशको शैक्षिक गुणस्तरलाई सबल बनाउनका लागि शैक्षिक सुधारका कार्यक्रमहरु ल्याउनुपर्ने अवस्थाले मुलुकलाई गम्भीर बनाएको छ, साथै विश्वविद्यालयमा पनि टिके प्रथा र राजनैतिक नियुक्तिका कारण शैक्षिक गतिविधिहरु प्रभावित हुदै आएका छन् । लाखौंको संख्यामा नेपाली विद्यार्थीहरु विदेश जान बाध्य भएका छन्, तर यसतर्फ विद्यार्थी संगठनहरुको चासो र चिन्ता भएको पाइएको छैन । यसले गर्दा नेपाल विद्यार्थी संघलाई कमजोर बनाएको छ ।
गलत व्यक्तिलाई संगठनको जिम्मेवारी दिदा पार्टी र सिंगो मुलुकले नै क्षति व्यहोर्नु परेको छ । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी वर्तमान नेतृत्वले पाएको छ तर नेवि संघका अध्यक्ष दुजाङ शेर्पा अलोकतान्त्रिक तवरले सांगठनीक गतिविधि सञ्चालन गर्न उद्दत छन् ।
सम्पूर्ण विश्वविद्यालय, क्याम्पसहरु र जिल्ला कार्यसमितिहरु सांगठनीक असहमति र विवादका कारण लथालिङ्ग अवस्थामा छन् । त्यस्ता असहमति भएका क्षेत्रमा सबै पक्षको वहस, छलफल, संवाद, समन्वय तथा यथासक्य सहमतिको आधारमा सम्पूर्ण सांगठनीक विवादहरु निरुपण गर्नुपर्ने हो तर हालको नेतृत्व नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ को धारा ३१,३४ र २०७८ फाल्गुन ३ को नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको निर्णय विपरित अलोकतान्त्रिक ढंगले विभिन्न जिल्ला कार्यसमिति र क्याम्पस इकाईहरुमा एकपक्षीय र गुटगत रुपमा आफूनिकट केही पात्रलाई चिठ्ठीमार्फत अध्यक्ष तोक्ने काम गरिरहेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट स्थापित पार्टी नेतृत्व तथा यसका पदाधिकारीहरु प्रति लोकतन्त्रवादीहरुले धेरै अपेक्षा राखेका थिए तर वर्तमान नेतृत्व र पदाधिकारीहरुले नेपाल विद्यार्थी संघलाई आफ्नो पैतृक सम्पत्तिको रुपमा लिएको छ । युवा भनिएका पदाधिकारीहरु पनि आफ्नो सिमित स्वार्थको शिकार नेपाल विद्यार्थी संघलाई बनाउन उद्दत छन् ।
न त समयमा महाधिवेशन न त कार्यसमितिको वैधानिक पूर्णता तर पनि युवा पदाधिकारीहरु वेखवर झैं देखिन्छन् । वास्तवमा नै भन्नुपर्ने हो भने नेपाल विद्यार्थी संघ यतिवेला नेतृत्वको स्वार्थको शिकार बनिरहेको छ । साँच्चै भन्नुनै पर्दा नेवि संघको बुई चढेर आज पार्टीको विभिन्न पदमा आसिन नेतृत्वको मौनका कारण सिंगो पार्टी नै धरापमा छ, भर्खरै हुर्किएका नर्सरीका विरुवाहरुमा पनि असर गरिरहेको छ बेलैमा नेतृत्वको बुद्धि पलाओस् शुभकामना ।
जय नेपाल !
-लेखक नेपाल विद्यार्थी संघ लमजुङका पूर्वसचिव प्रविनराज कंडेल हुन् ।