TagaroNews
मकैडाँडामा २५ लाखको बेकामे ‘डिस्प्ले बोर्ड’
नगरपालिकाद्धारा मकैडाँडामा निर्मित डिस्प्ले बोर्ड ।

लमजुङ – पर्यटकीय नगरी बेसीशहर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न भन्दै बेसीशहर नगरपालिकाले मकैँडाडा टावर छेउमा 'BESISHAHAR MUNICIPALITY' लेखेको डिस्प्ले बोर्ड निर्माण गरेको छ । नगरपालिकाले आ.व.०७८/०७९ को बजेटबाट वडा नं. ६ स्थित उत्त डाँडामा २५ लाख खर्च गरी १० मिटर अग्लो र झण्डै ६० मिटर लामो डिस्प्ले बोर्ड तयार गरेको नगरपालिकाका इन्जिनियर बिशाल ढकालले बताए ।

पालिकाले ५ महिनामा सक्ने गरी ०७८ असार ११ गते श्रीकृष्ण निर्माण सेवा बेसीशहरसँग डिस्प्ले बोर्ड निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त निर्माण सेवाले समयमै निर्माण गर्न नसकेपछि कार्यपालिका बैठ्कको निर्णयले समय अवधि थप गरी निर्माण कार्य पुरा गरेको थियो । 

नगरपालिका र निर्माण सेवा बिच भएको सम्झौता ।

निर्माण सम्पन्न भनिएको उत्त डिस्प्ले बोर्डले पर्यटक आकर्षित गर्न त, परे जाओस, झन एकातिर सो क्षेत्रको कुरुपता थपिदिएको छ भने, अर्कोतिर दुर्घटनाको जोखिम बढाइदिएको छ ।

प्रायलाई जनकारी नै होला पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटारबाट मनकामना क्षेत्रमा देखिने विभिन्न आकर्षक डिस्प्लेहरु । सोहि आकर्षक डिस्प्ले जस्तै बेसीशहर नगरपालिकाले पनि सोहि सोचका साथ यो डिस्प्ले निर्माण गरेको हो । तर, यो डिस्प्ले न आकर्षक छ, न त पूरा निर्माण सम्पन्न नै । न टाढाबाट अक्षर बुझिन्छ, न त नजिकबाट उत्कृष्ट नै देखिन्छ । पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको सो डाँडामा यति अग्लो डिस्प्ले बोर्ड निर्माणले झन जोखिम पो बढाइदिएको छ । 

स्थानीय मित्र रिमालले भने, ‘तेत्रो रकम खर्च गरेपछि त स्थानीयलाई पनि फाइदा पुग्ने संरचना बन्ला भनेको त, खै के खै के । उल्टो जोखिम पो बढेको छ । हावा चल्दा भाचिएला जसरी सो डिस्प्ले हल्लिने गरेको उनले सुनाए । उनले भने, ‘यो स्थानीयको आवश्यकता पनि होइन, न चाहना नै हो ।’

सोहि वडाका अध्यक्ष प्रकाश थापा भन्छन् ‘यो म वडा अध्यक्ष हुनुभन्दा अगाडि नै पालिकाले गरेको निर्णय हो, पालिकाले आफनो तवरले निर्माण गरेको छ, यस्ले भविष्यमा पर्यटक तान्यो भने न हो वडाबासीलाई फाइदा हुने । अहिले त खासै केहि छैन ।’

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले भने, ‘यस्ता डिस्प्ले अन्य जिल्लाका पर्यटकीय क्षेत्रहरुमा पनि पालिकाहरुले बनाएको देखियो, सोहि अनुरुप हामीले पनि पर्यटक आकर्षणका लागी निर्माण गरेका हौँ, तर, प्राविधिकको कमजोरीका कारण यस्तो भयो । अब पुन रकम थपेर, यस्लाई सोहि ठाउँको कतै व्यवस्थापन गर्ने तयारीमा छौँ ।’ 

नगरपालिकाले बजेट थप गरी सो डिस्प्ले बोर्डलाई त्यहाँबाट निकालेर नजिकै व्यवस्थापन गर्ने जनाएको छ । 

भुक्तानिका लागी निर्माण सेवाले पेस गरेको बिल ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update