TagaroNews
भीर माहुरी र महले लमजुङ प्रख्यातः संरक्षणका योजना शुन्य
मर्स्याङदी गापा–६ नाइचेको भिरमा महशिकार गर्दै शिकारी ।

भीर माहुरी र महले प्रख्यात लमजुङमा पछिल्लो समय विना तयारी मह काढ्ने प्रचलन पनि उत्तिकै बढेको छ । आन्तरिक र बाह्य पर्यटकको बिशेष रोजाइमा भीर मह शिकार परे पनि, यसलाई संरक्षण गर्ने कुनै योजना र निति नहुँदा माहुरी मासिने खतरा पनि त्यत्तिकै बढेको छ ।

लमजुङ – विश्वमा नै विरलै हुने शाहसिक भीर मह शिकारले लमजुङमा भने स्थान पाउँदै आएको छ । कहाली लाग्दो भीर तथा पहराहरुमा ज्यानको बाजी राखेर स्थानीय सिकारीहरुले भीरमहको शिकार गर्दै आएका छन् ।

कसरी हुन्छ भिरमह शिकार ?
भीर मह जस्तोसुकै भीरमा भने हुँदैनन । भीरमौरीले आफ्नो सुरक्षा हेरेर झण्डै १५ सयदेखि २५ सय मिटरको उचाईका पहराहरुमा घार बनाउने गर्दछ । कहीँ कतैवाट ठेस नपुग्ने ठाउँमा बनाईएका घारमा शिकार गर्नका लागि चोयाको डोरीलाई साथ लिनुपर्छ । दुईवटा डोरी बाँधेर ठेल्ना राखि भ¥याङ जस्तो बनाएर डोरीलाई भीरको शिरानमा रहेको रुखमा बाँधी त्यसबाट शिकारी झुण्डेर भीरमा मह काढ्ने गरिन्छ । 

शिकार गर्नुभन्दा पहिले बिशेष पुजा हुन्छ । देख्दै आङ जिरिंग हुने चट्टानी भिर । जहाँ चरो पनि बस्न नसक्ने कहालीलाग्दो पहरामा जागरिला शिकारहिरु डोरीमा लहरिन्छन् । लहरिदै माहुरीका गोलाछेउ पुग्न सामान्य मुटु भएका मान्छेका लागि कल्पनाभन्दा परको हुन सक्छ । पत्याउन गाह्रो भएपनि सत्य यही हो, भीर मह काढ्दा थोरै गल्ती भएमा ज्यान पनि जान सक्छ ।

गोलाछेउमा पुगेपछि धुवाँ लगाउनु पर्छ । धुवाँ सहन नसकेपछि बल्ल गोला छोडेर माहुरीहरु भाग्न थाल्छन् । अनि मह भरिएका गोलाहरुमा शिकारीको निशानाले मह काढ्न शुरु हुन्छ । 

मर्स्याङदी गापा– ४ ताघ्रिङको स्याँगे भिरमा महशिकार गर्दै शिकारी । 

संरक्षणको योजना शुन्य 
लमजुङमा मह शिकारले बर्षै पिच्छे स्थान पाउँदै आएको छ । अधिकांश स्थानका शिकारीले त यसलाई पुखौली परम्परा ठान्छन् । विशेष गरि उधौली, उभौली अर्थात कार्तिक, मंसिर र बैशाख, जेठ महिनामा भिर मौरीको मह काढ्न उपयुक्त मानिन्छ । 

मस्र्याङ्दी गापा–४ मिप्रा गाउँका मिन बहादुर गुरुङ लामो समयदेखी भिरमह काढ्ने शिकारी हुन् । उनीसँग यसबारे धेरै अनुभव छ । उनले भने, ‘पहिले पहिले त बिना सुरक्षा मह काढ्ने चलन थियो, हाम्रा बाजे पुर्खाले त सुरक्षा बिना नै मह काढे । बिस्तारै सुरक्षाका साधनहरु भित्रिए, तर, पनि यस्मा ज्यानको बाजी नै लगाउनुपर्छ, स्थानीय सरकारले भिर मह शिकारको व्यवस्थापन गरे र इन्सुरेन्सको व्यवस्था गरे राम्रो हुने थियो । खै केहि तयारी नै छैन ।’

पछिल्लो समय विना तयारी मह काढ्ने प्रचलन बढेपछि मौरी मासिने खतर पनि उत्तिकै बढेको छ । सोहि गाउँका अर्का मह शिकारी राज कुमार गुरुङले भने, ‘भिर मौरीको संरक्षणमा स्थानीय सरकारको ध्यान जान अति आवश्यक छ, यसलाई व्यवसायीक रुपले अघि बढाउन सके, गाउँलेलाई नि फाइदा, पर्यटक पनि बढ्ने थिए । स्थानीय सरकारलाई पनि धेरै फाइदा पुग्थ्यो । तर, कसैको ध्यान पुगेन ।’ 

भीर मौरीहरुले कोलाहल र मानव वस्ती रुचाउँदैनन् । लमजुङका प्रायः गुरुङ बस्ती रहेको ठाउँहरुमा भीरमौरी रहेका छन् । ताघ्रिङको मिप्रा, भुजुङ, घनपोखरा, नाईचे, दोर्दी, दुधपोखरीका विभिन्न भीर पहराहरुमा भीरमौरीहरु प्रशस्तै मात्रामा पाईन्छन । भीरमहबाट लाखौँ रुपैँया आम्दानी गर्न सकिएपनि यस सम्बन्धी सरकारी निकायसँग संरक्षणको योजना र यसबारेको अनविज्ञताले अधिकांश स्थानका भीरमह भीरमा नै थन्कनु परेको अवस्था छ । 

तर, भीरमह विशेषगरि यौनबद्र्धक शक्ति र हाडजोर्नीका रोगीहरुका लागि अचुक औषधिको रुपमा लिने भएकाले पनि गाउँलेहरु भने, मह शिकार गर्न छाड्दैनन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update