TagaroNews
सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौँ : महावीर पुन

काठमाडौँ - राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । 

शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।

उनले सांसदहरुलाई खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गरे । उनले भने, ‘सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प बाहेक अरु केहि छैन, अनुसन्धान, आविष्कार र नवप्रवद्र्धन गर्ने विभाग अरुजस्तो होइन, माग पूरा गर्नुपर्छ नत्र आन्दोलन जारी राख्छौँ ।’

उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे । पुनले आफ्नो आन्दोलन अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको समेत जिकिर गरे ।

शुक्रबार दिउँसो प्लेकार्डसहित माइतीघरको सडकमा प्रदर्शन गरेका पुनले शुक्रबार राति पनि सडकमै बिताएका छन् । उनले माग पूरा नभएसम्म रातदिन आन्दोलन नरोकिने अडान राखेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update