TagaroNews
गण्डकी प्रदेश मुख्यमन्त्रीमा नेपाली कांग्रेस सुरेद्रराज पाण्डे नियुक्त

पोखरा- गण्डकी प्रदेश मुख्यमन्त्रीको नेपाली कांग्रेस सुरेद्रराज पाण्डे नियुक्त भएका छन् । संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमूख पृथ्वीमान गुरुङले पाण्डेलाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङले गत बैशाख १२ गते बहुमत प्राप्त सदस्यलाई  आज दिउँसो ४ बजे सम्म दाबी पेश गर्ने समय दिएका थिए । मुख्यमन्त्री नियुक्त भएका पाण्डेले  कांग्रेसको २७ र माओवादी केन्द्रका ७ जना र एकिकृत समाजबादी प्रवेश गरेका एक स्वतन्त्र सहित ३५ जना बहुमत प्रदेश सभा सदस्यको समर्थनमा दाबी पेश गरेका थिए ।

उनलाई आजै सपथ खुवाउने तयारी प्रदेश प्रमूख कार्यालयले गरेको छ । मुख्यमन्त्रीसँगै आजै केही मन्त्रीले पनि सपथ लिने बताइएको छ । प्रदेशका चौथो मुख्यमन्त्री बनेका पाण्डे गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा  क्षेत्र ख बाट निर्बाचित प्रदेश सभा सदस्य  हुन् ।

प्रधानमन्त्री एबम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै क्षेत्रमा गठबंधन गरेर चुनावमा होमिएका पाण्डेलाई दाहालले त्यति बेला मुख्यमन्त्रीको मौखिक आश्वासन दिएका थिए । तनहुँ क्षेत्र नम्बर १ को उप निर्वाचनमा कांग्रेस उम्मेवारलाई सघाउन गरी आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका माओवादी र कांग्रेसले चुनावमा पराजित भएपछि दुबैले पहिलो नेतृत्वमा दाबी गरेका थिए ।

यस अघि गण्डकीमा माओवादीको समर्थनमा कांग्रेसले कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनिसकेकाले अहिले माओवादीले पाउनु पर्ने भन्दै सशक्त दाबी गरेको थियो । तर कांग्रेसका प्रदेश सभा सदस्यहरू काठमाण्डौँ गएर मुख्यमन्त्री पक्क गरेर फर्किए पछि माओवादी बिच्किएका कारण दाबी पेश गर्न ढिलाई भएको थियो ।

माओवादीले केन्द्रको निर्देशन अनुसार अन्तिममा आएर प्रदेश सभा सदस्यहरुको हस्ताक्षर दिएपछि पाण्डेले दाबी पेश गर्न पाएका थिए । योसँगै अब गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्र  सहितको समर्थित कांग्रेस नेतृत्वको सरकार बनेको छ ।

२२ जना प्रदेश सभा सदस्य रहेको एमाले र २ सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिपक्षमा बस्नेछन् ।गण्डकी प्रदेशमा कांग्रेसको संसदीय दलका नेता समेत रहेका पाण्डे यस अघि राष्ट्रिय सभा सदस्य भइसकेका व्यक्ती हुन् । 

बैशाख ९ गते एमालेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसके पछि गण्डकीमा नयाँ सरकारको बाटो खुलेको थियो । केन्द्रको सत्ता समीकरण फेरिए सँगै  चैत्र १० गते गण्डकीमा पनि सरकारवाट माओवादी केन्द्रले २ मन्त्रीलाई फिर्ता बोलाए पछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update