TagaroNews
कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बन्दै  

पोखरा – गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।

गत पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको सरकार बन्न लागेको हो ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । सो अनुरुप अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाए । 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।

गण्डकीमा शीर्ष तहमै कांग्रेस–माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update