
लमजुङ । दोर्दी करिडोरमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ । एक महिना लामो परीक्षण उत्पादन पश्चात आयोजनाले व्यावसायिक उत्पादन थालेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनका अनुसार ०७६ चैतदेखि नै विद्युत उत्पादन सुरु गर्ने तालिका रहेकोमा भूकम्प, नाकाबन्दी र प्राकृतिक प्रकोपको समस्याले गर्दा आयोजनाको समय र लागत दुबै बढेको हो ।
आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरे पनि लागत बढ्न आएको प्रर्बद्धक कम्पनी लिबर्टीले जनाएको छ । रन अफ द रिभर प्रणालीमा आधारित उक्त आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार आठ सय ६९ युनिट बिजुली उत्पादन हुनेछ । विद्युत प्राधिकरणसँगको पिपिए सम्झौता अनुसार प्रतियुनिट लागत हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र बर्खाको समयमा ४ रुपैयाँ ८० पैसा रहने छ ।
दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको यस आयोजनाले ०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो । आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारणलाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारणलाइनमा जोडिएको छ ।
यो आयोजनासँगै दोर्दी करिडोरमा २७ मेगावाटको दोर्दी खोलाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु भइसकेको छ । १२ मेगावाटको दोर्दी– १ आयोजना उत्पादनको तयारीमा छ भने, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजना निर्माणको अन्तिम तयारीमा रहेको छ ।