
बारा – क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।
मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए । उनका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ । जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४ दशमलव १४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो ।
बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन् । सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए ।
बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए ।