TagaroNews
बल्ल उठ्न थाल्यो सिंहदरबारको फोहोर 

काठमाडौं-  सिंहदरबारको फोहोर १५ दिनपछि  उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो ।

मेयर बालेन्द्र साह (बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई गत २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर नउठाउन आदेश दिएका थिए ।  महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए ।

मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।

सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताए ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा महानगरपालिकाले फोहोर लैजान नदिने भएपछि सिंहदरबार भित्रै फोहोरको व्यवस्थापन समेत सुरु भएको थियो । फोहोर रोकिन थालेपछि कुहिने फोहोर मल र पशुआहार, पुनः प्रयोग गर्नुपर्ने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update