TagaroNews
गण्डकी प्रदेशः नयाँ सरकार गठन कहिले ?

पोखरा - खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएर पदमुक्त भएको तीन दिन बित्यो । तर,  गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

विशेषगरी कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो मुख्यमन्त्री बन्ने विषय पेचिलो बन्दा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन् । शनिबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि अधिकारी पदच्यूत हुन पुगेका थिए ।

आलोपालो मुख्यमन्त्री बन्नेबारे केन्द्रमा एक तहको समझदारी भए पनि पहिला कांग्रेस कि माओवादीबाट बन्ने भन्ने विषय पेचिलो बनेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका अधिकारीले विश्वासको मत गुमाएपछि अबको सरकार कसरी गठन हुने भन्ने पनि अन्योल देखिएको छ । 
संविधानको धारा १६८ को उपधारा २ या उपधारा ३ अनुसार सरकार गठन हुने भन्ने पनि अझै टुंगो लागेको छैन । उपधारा २ मा दुई या सोभन्दा बढी दलको बहुमतको सरकार र उपधारा ३ मा सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न सकिने व्यवस्था छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङ अहिले केकसरी सरकार गठनका लागि आह्वान गर्ने भन्दै परामर्शमा रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।

यता कांग्रेस संसदीय दलको बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ भने, उता मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update