
लमजुङ – लमजुङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य (सांसद) भेषबहादुर पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा लमजुङ प्रदेशसभा ‘ख’ बाट गण्डकी प्रदेश सभामा चुनिएका पौडेलले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी आफनो चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् ।
उनको खर्च विवरण अनुसार सवारी साधन परिचालन शीर्षकमा १ लाख ३४ हजार रुपैयाँ र इन्धन शीर्षकमा ७७ हजार ६ सय १५ रुपैयाँ खर्च भएकोछ । यस्तै खाना तथा खाजाका लागि १४ हजार ४ सय, झण्डा तथा ब्यानर निर्माणमा १ लाख ८२ हजार २ सय र प्रचारप्रसारका लागि पर्चा पम्प्लेटमा तीन लाख ४४ हजार २ सय गरी कुल ८ लाख ८१ हजार १५ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
खर्चको विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र बुझाउनुपर्ने प्रावधान भए पनि अधिकांश उम्मेदवारहरुले अहिलेसम्म खर्च सार्वजनिक गरेका छैनन् ।