TagaroNews
तनहुँ– १ मतगणनाः रास्वपाका वाग्लेको अग्रता कायमै

तनहुँ - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ७ हजार २९३ मत ल्याउँदै अग्रस्थानमा छन् । 

यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले भने २ हजार १३४ मत प्राप्त गरेका छन् । जस अनुसार कांग्रेसका उम्मेदवार भट्टराई र एमालेका उम्मेदवार खनालले हालसम्म प्राप्त गरेको मतको योगफल (५३६८) भन्दा धेरै रास्वपाका उम्मेदवार वाग्लेले प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार हाल भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको मतगणना भइरहेको छ । सोमबार बिहानदेखि मतगणना सुरु गरिएकोमा पछिल्लो परिणाम अनुसार रास्वपाका वाग्लेले अछिन्दै आएका छन् ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update