TagaroNews
मुस्ताङमा चार वर्षपछि बल्ल चल्यो चौरीको आलो रगत खाने मेला 
फाइल तस्बिर

मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा परम्पराकालदेखी चल्दै आएको याकचौरीको आलो रगत खाने मेला चार बर्ष पछि सुरु भएको छ । थासाङ गापा –२ बोक्सी खोलामा शुक्रबारदेखि याकचौरीको आलो रगत खाने मेला सुरु भएको हो । 

कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको मेला यसपटक सुरु गरिएको हिमालयन चौरी पालन तथा संरक्षण समिति अन्तर्गत धौलागिरी याकचौरी पालक समूहले जनाएको छ । 

बैशाख ८ देखि १७ गते ९ दिनसम्म याकचौरीको आलो रगत खाने मेला सञ्चालन गरिएको समूहका अध्यक्ष बुद्धिरत्न तुलाचनले जानकारी दिए । उनका अनुसार याकचौरीको रगत खाने मेलामा थासाङ–२ का ९ घरधुरी ९ गोठको करिब ७ सय याकचौरीको रगत निकालिनेछ । 

बर्सेनि बैशाख महिना र भदौ महिनामा याकचौरीको रगत निकालेर बिक्री गर्दै आइरहेका याकचौरी पालकहरू कोभिड माहामारीको बेला रगत खाने मेला सञ्चालन गर्न सकेका थिएनन् ।

यतिखेर जिल्ला बाहिरका र जिल्ला भित्रका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि रगत खान बोक्सी खोला पुगेका छन् । मेलामा एक चौरीयाकबाट १० देखि ३५ गिलाससम्म रगत निकालिनेछ । मेलामा रगत खाने आउने सर्वसाधारणलाई याकचौरीको आलो रगत प्रतिगिलास ३ सयको दरमा बिक्री गरिएको समूहले जनाएको छ । 

रगत खाने मेलामा याकचौरीको पशु स्वास्थ्य अवस्था परीक्षण गरेर मात्रै रगत निकालिने गरिन्छ । वशन्तऋतुको सन्तुलित याममा खर्कबाट बस्ती छेउ झारिने चौरीयाकको रगत बिक्री गर्ने पुरानो प्रचलन हो । मुस्ताङका स्थानीय तहहरूमा बर्सेनि यस प्रकारको रगत खाने मेला आयोजना हुने गर्छ । मासु प्रजनन, दूधका परिकारबाट आर्थिक मुनाफा कमाइरहेका पशुपालक किसानले रगत निकालेर बिक्री गर्ने दोश्रो आम्दानीको रुपमा लिइन्छ । 

हिमाली लेकका याकचौरीको आलो रगत स्वास्थका लागि लाभकर हुने गर्दछ । चौपायाले मुस्ताङका उच्चलेंकको पाँचऔले, निरमसी, जटामसी र यार्सा गुम्बा जस्ता जडिबुटी खाने हुदाँ यसले पेट सम्बन्धी रोग निको भई शारीरिक स्फुर्ती बढ्ने जनविश्वास छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update