
काठमाडौँ - प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नंं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
आयोगका अनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ । तनहुँ १ मा ५३ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र बारा–२ मा ६४ प्रतिशत मतदान भएको छ ।
स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी समेत गरिसकेका छन् । आयोगका अनुसार तीन क्षेत्रकै मतपेटिका संकलन भएपछि तनहुँ–१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा, चितवन–२ मा उद्योग वाणिज्य संघको हल र बारा–२ मा शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना गर्ने तयारी छ । मंगलबारसम्म अन्तिम परिणाम आइसक्ने आयोगले जनाएको छ ।