TagaroNews
लमजुङ: अबैध सालको काठ सहित २ जना पक्राउ

लमजुङ - प्रहरीले अबैध सालको काठसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नपा–१ का २६ बर्षिय सन्दिप घर्ती र रौतहटको गरुडा नपा– ७ का २६ बर्षिय कामेश्वर पटेल रहेका छन् ।

प्रहरीले अबैध काठ ओसारपोसार हुँदैछ भन्ने सुचनाको आधारमा शनिबार दिउँसो साढे ३ बजे उनीहरुलाई मध्यनेपाल नपा–१ जिताबाट पक्राउ गरेको हो । प्रहरी चौकी सोतीपसल र कुन्छाबाट खटिएको संयुक्त टोलीले ग १ त ५८४७ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा अबैध काठ ओसारपसार गरेको फेला पारेको हो । 

२ लाख ८० हजार रुपैँया बराबरको सालको चिरान काठ ५३ क्यूःफिट फेलापारी बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार पक्राउ परेको अवैध काठ सहित दुवैजनालाई आवश्यक कारबाही र अनुसन्धानका लागी डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update